कोरोनाको महामारीले विश्व नै स्थिर जस्तै छ। यस्तो लाग्छ घन्टाघरको घडीले पनि चल्न बिर्सिएको छ। विश्वका सबैभन्दा व्यस्त सहरहरूमा पनि अचेल मानिसहरूको चाप शुन्यप्रायः छ।
सडकमा गाडीहरू देखिने छाडेका छन्, सबैतिर लकडाउन भइरहदा गाउँघरको लकडाउन भने अलि भिन्न प्रकृतिको छ। अन्य सहर बजारको तुलनामा त्यसै पनि गाउँघरको चहलपहल गाउँभित्रका सिमित मान्छेहरूमै सिमित हुन्थ्यो, अब झन् लकडाउनले त्यसलाई झन खुम्च्याएको छ।
चैत्र ११ गते मैले आफ्नो गाउँ बुढिगंगा नगरपालिका वडा न ५ तिर प्रवेश गर्दा अन्य समयजस्तै अवस्था थिएन गाउँघरको। बाटोमा हिँड्दै गरेका व्यक्तिहरूले मास्क लगाएका थिए, कोही घाँस काट्न जाँदै थिए, कोही दाउराको जोहो गर्न जाँदै थिए। कति भने चिनी, नुन, तेलको जोहो गर्न नजिकैको बजार तिर जाँदै थिए।
उनीहरूले मुखमा मास्क लगाएका थिए। कतिले भने मास्क नै नपाएर दोसल्लाले नाक र मुख छोपेर काममा लागेको देख्दा कोरोनाको बारेमा गाउँघरमा डर र त्रास बढी अनि जनचेतना र ज्ञानको कमी छ भन्ने प्रष्ट बुझिन्थ्यो।
गाउँका खेतमा विस्तारै पहेलो हुँदै गरेको गहुँको बाली छ, खोलानालाहरूमा पानीको बहाव घट्दो छ, बिहानै लागेको घाम साँझ ढल्दै गएपछि हावा हुरीले चाडै सुर्यलाई पश्चिम तिरको डाँडापारी धकेलिदिन्छ। एकछिन पानी पर्ला जस्तो हुन्छ, फेरि हावाले त्यो बादललाई टाढा पुर्याइदिन्छ र अर्को बिहान पुनः घरका छानामा नयाँ आशाको किरण उदाउँछ, तर नयाँपन केही हुँदैन।
यतिबेलासम्म लकडाउनको धेरै प्रभाव भने गाउँघरमा परिसकेको थिएन। सरकारले लकडाउन घोषण गर्नु पुर्वनै गाउँघरमा कति जना घर फर्किसकेका थिए भने कोही फर्किने क्रम जारी थियो। सबैले लकडाउनमा आफू बसेको ठाउँभन्दा पनि आफ्नै गाउँघरसम्म पुग्न पाए सुरक्षित महशुस गर्छन् भने भान दिनदिनै विभिन्न शिलशिलामा गाउँ छोडेकाहरू फर्केका देखेर लाग्थ्यो।
त्यसैले लकडाउन सुरू भैसक्दा समेत आवतजावतको क्रम भने रोकिएको थिएन। सुदुरपश्चिमका विभिन्न जिल्लाका अधिकांश बेरोजगार युवाहरूको रोजगारको थलो भारत हो। त्यसैले नगरपालिकाको समन्वयमा टाटे स्वास्थ्य चौकीले भारतबाट बाजुरा जिल्ला प्रवेश गर्नेको रेखदेख गर्न परीक्षणको लागि हेल्प डेस्क त स्थापना गर्यो, तर त्यहाँ न गन थर्मोमिटर थियो, न मास्क नै।
यस्तै अवस्थामा पनि आउने जानेहरूको विवरण लेखेर पठाउथ्यो। केही दिनपश्चात भने बयालपाट अस्पतालले गन थर्मोमिटर हेल्प डेस्कलाई प्रदान गर्यो। यतिन्जेलसम्म भने सबै भारतबाट आएका व्यक्तिहरूलाई १४ दिनसम्म घरमा एक्लै बस्न र केही समस्या परे स्वास्थ्य चौकीमा सम्पर्क गर्न सुझाव दिएर पठाइएको थियो। लकडाउनलाई पनि सरकारले अझै सशक्त बनाइसके पछि भने भारतलगायत अन्य क्षेत्रबाट आउनेहरुलाई उपयुक्त नगरपालिका र गाउँपालिकाले आफैँ क्वारेन्टाइन बनाइ राख्नुपर्ने प्रावधान बनायो।
यस पश्चात् चैत्र १५ गतेपछि आएका व्यक्तिहरुका निम्ति नगरपालिकाले बडिमालिका क्याम्पसमा क्वारेन्टाइनको बन्दोबस्त मिलाउँदा त्यँहा नजिकैको बस्तीका महिलाहरू आन्दोलनमा उत्रिए। त्यसपछी भने टाटे स्वास्थ्य चौकीमा नै क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाए।
केही व्यक्तिहरूको अझै पनि गाउँ आउने क्रम जारी नै थियो। केही भने सिमानामा अड्किनु परेको थियो। हिजोआज गाउँमा चाहे त्यो पानी पँधेरो होस् वा चौतारो वा खेत वा वनपाखा नै होस, कोरोनाभन्दा अन्य विषयको कुराकानी बिरलै हुन्छ। गाँउघरतिर धेरैजस्तो मानिसहरू सहरबाट घर फर्किएका छन्। योसँगै धेरैको घरमा खुसी पनि फर्किएको छ।
सबै जना सँगै छौँ भन्ने विश्वास पनि बढेको छ परिवारको। तर दिन प्रतिदिन विदेशमा भएका कोरोनाको मृत्युका समाचारले र अन्य अफवाहले भने त्रास पनि उत्तिकै बढेको छ। कति घरहरु भने अझैँ महाकाली पारी र केही आँगनहरू भने धार्चुलामा रहेका आफन्तहरू कहिले घर आउन पाउँछन् भन्दै बाटो हेर्दैछ्न।
भारतमा कोरोना संक्रमणको संख्या दिन प्रतिदिन बढेपछी गाउँघर झन् त्रसित बनेका छन् र सरकारलाई आह्वान गर्दै छन्। सरकार बरु यिनीहरूलाई नेपाल ल्याउने व्यवस्था गरौँ। १४ अथवा २१ दिन क्वारेन्टाइनमा राख्ने कि के गर्ने सरकारलाई हामी सहयोग गर्छौँ तर झन् संक्रमणको जोखिममा उनीहरूलाई अब रहन नदिउँ।
सरकारले गाउँघरमा जनचेतना अभिवृद्धि गर्ने कार्यलाई धेरै चासो दिएको भने पाइएको छैन। त्यसैको फलस्वरूप आज गाउँघरमा त्रास छ तर यस्तो बेलामा के गर्ने भन्ने जानकारी कसैमा छैन।सरकारले टेलिभिजन, रेडियो अनि पत्रपत्रिकामार्फत जनचेतनामूलक सामाग्री त प्रशारण गर्यो, तर गाँउघरसम्म त्यो आवाज पुग्ने आधार बनिसकेको छैन भन्ने कुरा बिर्सियो।
सरकारले स्थानीय सरकारलाई कोरोना रोकथाम र नियन्त्रणका लागि बजेट बिनियोजन गरेपश्चात भने बुढिगंगा नगरपालिकाले पनि त्यही अनुरुप यस नगरपालिकाका सबै घर घरमा दुई चक्की साबुन वितरण गर्यो। तर गाउँघरमा पानी पँधेरो एउटै छ, घरमा सबैले प्रयोग गर्ने शौचालय पनि एउटै छ। प्राय घरमा एउटै कोठामा सबैजना सुत्छन्।
यस्तो अवस्थामा कसरी संक्रमण हुनबाट जोगिने र भारतबाट आएका व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा बस्ने भन्ने जानकारी भने गाउँघरमा अझै राम्ररी पुगेको छैन। अन्य राहतका कार्यक्रमहरु बारे पनि गाउँघरहरू बेखबर छ्न। यस नगरपालिकाको त आर्थिक अख्तियारीमा कांग्रेस र नेकपाको आफ्नो आफ्नो हठका कारण करिब ४/५ महिनादेखि नगरपालिकामा आर्थिक कारोबार ठप्प छ।
सबै सरकारी कर्मचारीहरू तलब र अन्य नागरिकहरू सामाजिक सुरक्षा भत्ताको पर्खाइमा छ्न। तर राजनीतिक दलहरू भने जुँगाको लडाई गर्दैछ्न। झन् यस बिपत्तिको समयमा कसरी नागरिकहरुको जनजीवन सहज बनाउनेभन्दा पनि असार मसान्त आउदै छ, आर्थिक अख्तियारी आफ्नो पार्टी निकट कर्मचारीलाई कसरी सुम्पिने भन्ने दौडमा छन्।
यसबाट साधारण नागरिकहरू भने झन् मारमा परेका छन्। यदि यहि अवस्था रहिरहे लकडाउनमा सरकारी कर्मचारीहरू एवम् सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने बृद्ध, अपांग एकल महिला र अन्य व्यक्तिहरू यस बिपत्तिलाई टार्ने अन्य बाटो खोज्दैछन्। तर स्थानीय सरकार भने अझै राजनीतिक दाउपेचमै रुमल्लिएको छ।
बिपत्तिको समयमा अनेक तरहका हल्लाहरू फैलिनु नौलो कुरा होइन। यसपटक पनि सुदुरपश्चिममा एकाएक एउटा हल्ला फैलियो कि आँगन अगाडिको कोइलाको टिका लगाएपछि कोरोनाको संक्रमण हुँदैन। यस कठिन परिस्थितिमा जनचेतनाको कमी भएका नागरिकहरुले यो सुने लगत्तै आँगन आगाडी कालो कोइलाको खोजीमा घर अगाडिपट्टि खन्दै गए।
कोरोना, जस्ले संसारलाई त्रसित बनाएको छ, त्यसलाई सजिलै भगाउने प्रयत्नशील गाँउलेहरू प्राय सबैले निधारमा कालो टिका लगाए। कालो टिका लगाएकै भोलिपल्ट चैत्र १४ गते धनगढीमा एकजना युवकलाई कोरोना संक्रमण भएको पुष्टि भएपछी भने गाउँघरमा पुनः त्रासको हावाले फेरि सुस्केरा हाल्यो। गाउँलेहरू आफैँले आफ्नो गाउँको नियम बनाएर एउटा गाउँबाट अर्को गाउँमा जान नदिने र आफूहरू पनि नजाने निर्णय गरे।
यसैको शिकार बने कयौँ जोडिहरू। जो ससुराली गएका थिए, उनीहरु आफ्नो घर फर्किन पाएनन् र पुन ससुराली घर तिरै फर्किए, माइती घर जान्छु भन्दै हिडेकाहरू पुनः साँझ आफ्नै घर फर्किनुपर्यो। विशेषगरी भारतबाट नेपाल आएकाहरूलाई त अन्य ठाउँमा नजान र घरमा नै बस्न गाउँका बुद्धिजिवीहरू एकत्रित भएर सल्लाह सुझाव दिए।
रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँमा पुगेका व्यक्तिहरू फर्किन थालेदेखि नै नगरपालिकाले पनि उनीहरुको विवरण संकलन गरेको थियो। जसमध्ये चैत्र १ देखि पछि आएका ३०३ जना व्यक्तिहरूले बुढिगंगा नगरपालिका प्रवेश गरेका छन्। ती मध्ये करिब २० जनालाई विभिन्न ठाँउमा क्वारेन्टाइनमा राखिएको छ भने अरुलाई घरमा नै क्वारेन्टाइनमा बस्न आह्वान गरिएको छ।
चैत्र २२ गते घनगढीमा थप तीन जना संक्रमीत पुष्टि भएपछि भने गाँउघरको लकडाउन पनि अझै कडा रुपमा प्रस्तुत हुँदै गयो। विद्यार्थीहरू भने निस्फिक्री भएको महशुस गर्न थाले। किताबहरू थन्काएर घाँसदाउरा र पानी पधेरोमै अल्मलिन थाले। कतिको परीक्षा बीचमै रोकिएको छ भने कतिको सुरु हुनै बाँकी छ। कहिले परीक्षा हुने भन्ने अनिश्चिताले उनीहरूलाई झन् अलमल परेको छ।
पढेको कुरा पनि बिर्सिदै छन् विस्तारै। सरकारले यस्ता गाउँघरका विद्यार्थीका निम्ति कुनै पठनपाठनका कार्यक्रम पनि ल्याएको छैन। गाउँघरमा इन्टर्नेटको माध्यमबाट कक्षा लिनु पनि असम्भव छ। गाउँघरका शिक्षकहरू पनि यस समस्यालाई समाधान गर्न सरकारको पहलको प्रतिक्षामा छन्।
गाउँघरमा धेरैजना मानिसहरू खेतिकिसानी र ज्याला मजदुरी गर्ने व्यक्तिहरू छन्। खेतिकिसानी गर्नेहरूले त केही व्यक्तिहरू अहिलेको फुर्सदको समयलाई खेतिपातीमा तरकारीलगायत अन्य बालीहरू लगाउनमा लागि सकेका छन्। तर बजार बन्द भएका कारण बीउबिजनमा नपाएर अलि समस्या खेप्नु परेको छ।
उनीहरू लकडाउनको उपयोग गर्दै छोराछोरीसहित बारीमा पस्न थालेका छन्। यसरी लकडाउनको समयमा तरकारीको बीउबिजन प्रदान गरिदिएर निश्चित दूरी कायम गरेर काम गर्न जनचेतना फैलाउन सके देशलाई यो बिपत्ति पछि तरकारीमा थोरै भएपनि आत्मनिर्भर बनाउन सकिन्थ्यो कि?
यदि सबै गाँउमा कृषकहरूले यस्तै गरे, देशले महामारी पछि भोकमरी र अभावमा दिन गुजार्नु पर्ने छैन। ज्याला मजदुरी गर्नेहरुलाई भने लकडाउले सार्है पिरोलेको छ। न काम गर्नलाई केही काम नै छ, न घरभित्र बसिरहन नै मनले दिन्छ। जबजब चामलको बोरा तर्फ आँखा पुग्छ, सरकारले के-के भन्छ भनेर दैनिक बिहान साँझ रेडियोको कान बटार्छन।
पक्कै यस कठिन अवस्थामा सरकारले केही गर्छ होला भन्दै आशा गरिरहन्छन्। 'कोही बाहिर ननिस्किनुहोला, खाद्यन्नको व्यवस्था हामी मिलाउँदै छौँ, आवश्यक परेका घरपरिवारमा स्थानीय निकायमार्फत राहतका कार्यक्रम ल्याउछौँ' भनेको पनि दुई हप्ता बितिसक्यो। तर पनि राहतको केही कुरा सुनिदैन।
कसैसँग ऋण खोज्दा यस्तो बिपत्तिमा गाँउघरमा सबैलाई समस्या नै छ। सरकारले झन् वैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेपछि भने गाउँघरका ज्यालामजदुरी गर्ने कामदारहरू सरकारको मुखदर्सक बनेका छन्।
आशा छ सरकारको राहतका कार्यक्रम, नागरिकहरूको पेटमा लकडाउनको अवस्था आउनु पुर्वनै आउँनेछ।
0 Comments:
Post a Comment